२४ असोज, २०८२ शुक्रबार
03:07:19 AM
२४ साउन, २०७९
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागीता गराउन कानुनी अड्चन हटाउन सरकार तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बिन्दा पाण्डेले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नका लागि राख्नुभएको ध्यानाकर्षण प्रस्तावका बिषयमा मन्त्री कोईरालाले निर्वाचनमा नै महिलाको समानुपातिक सहभागीता सुनिश्चित गर्नका लागि निर्वाचन आयोगले पनि काम गरिरहेको र सरकार पनि आवश्यक कानुनमा परिमार्जन गर्ने तयारीमा रहेको बताउनुभएको हो ।
मन्त्री कोइरालाले महिलाको समान सहभागीताका लागि राजनीतिक इच्छाशक्ति बढाउनुपर्ने सुझाव पनि दिनुभयो । उहाँले लैंगिक समानता र समावेशीताको प्रतिकूल रहेका कानुनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको जानकारी पनि दिनुभयो । संविधानमा उल्लेख समानुपातिक, समावेशी प्रतिनिधित्वको बिषयलाई लागू गर्ने बिषयमा सवैले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।