२१ बैशाख, २०८२ आइतबार
11:24:13 AM
१३ साउन, २०७९
काठमाण्डौं । आर्थिक वर्ष २०७८÷७९ मा नेपालले १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट ७१ करोड ८२ लाख ४३ हजार ८७७ लिटर कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको छ ।
विभागको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँको ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।
सोही अवधिमा ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपैयाँको २७ करोड ६६ लाख २२ हजार १४१ लिटर कच्चा पाम तेल, १८ अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैयाँको १० करोड ८५ लाख ३५ हजार ४०९ लिटर कच्चा सनफ्लावर तेल र २ करोड ५ लाखको १ लाख २ हजार ७८१ केजी कच्चा नरिवल तेल नेपालले आयात गरेको छ ।
यस्तै एक वर्षको अवधिमा नेपालले प्रशोधन गरिएको ९३ अर्ब ७० करोड ८५ लाख ९० हजार रुपैयाँको भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो ।
सो वर्ष नेपालले विभिन्न देशबाट ल्याएको कच्चा भटमास, पाम र सनफ्लावर तेल प्रशोधन गरी भारतमा ५५ अर्ब ९० करोड ३८ लाख १५ हजार रुपैयाँको निर्यात गरेको थियो ।