२६ असोज, २०८२ आइतबार

03:25:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारबढेदेखि चिनियाँले चलाएको कल सेन्टरमा प्रहरीको छापासम्म

Nepal Business

९ साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारबढेदेखि चिनियाँले चलाएको कल सेन्टरमा प्रहरीको छापासम्म

१) सेयर बजार ५४.४५ अंकले बढ्यो

साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२.९६ विन्दुमा बन्द पुगेको छ। 
आइतबार पनि नेप्से ६१.०५ अंकले बढेर दुई हजार ७८ दशमलब ५१ विन्दुमा बन्द भएको थियो ।  

आज कारोबार रकममा पनि बढेको छ । आज नेप्सेमा चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आइतबार कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये ७ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ११ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ६ कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार आज मञ्जुश्री फाइनान्स डिभेञ्चरको मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । 

यस्तै कारोबारको सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीले १५ करोड २९ लाख भन्दा बढीको कारोबार गरेको छ । 

२) गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा उच्च

गत आर्थिक वर्ष २०७८÷७९ मा कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यो नेपालको वैदेशिक व्यापार घाटा अहिलेसम्मकै सबैभन्दा बढी हो । भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ ।  

भन्सार विभागका अनुसार  अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । गतवर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

३) राष्ट्र बैंकले सार्वजनिक गर्यो अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । यस सर्वेक्षणअन्तर्गत राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो ।

सर्वेक्षणमा आएका परिणामहरू ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित छन् । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएका राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणका क्रममा ९४।७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९४।४ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ।

४) साउनको पहिलो साता ६३ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन पहिलो साता साउन १ गते देखि साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो।

योसँगै साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँमा पुगेको छ । गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकर्स एसोसिएनको तथ्यांकमा उल्लेख थियो ।

त्यस्तै, साउनको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको  थियो । उक्त कर्जा प्रवाह साउनको पहिलो ६ दिनमा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा रहेको छ । साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.७५ प्रतिशत रहेको छ ।

५) थप १६ वटा कम्पनी कालोसूचीमा

निर्माणका ठेक्कामा संलग्न थप १६ वटा कम्पनी कालोसूचीमा परेका छन् । सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न १६ वटा विकास निर्माणका कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । 

कालोसूचीमा राखिएका निर्माण व्यवसाय तथा आपूर्तिमा संलग्न यी कसम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदकार्यमा भाग लिन सक्ने छैनन् । हाल कालोसूचीमा थपिएका कम्पनीहरूलाई कम्पनीअनुसार एकदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको खरिदकार्यमा प्रतिबन्ध गरिएको छ ।

६) प्रहरीको प्रयोगशालाले विशेष समितिलाई बुझायो फुटेजको फरेन्सिक रिर्पोट

नेपाल प्रहरीको केन्द्रीय प्रहरीको प्रयोगशालाले संसदीय छानबिन विशेष समितिलाई सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको विषयमा गठित संसदीय छानबिन विशेष समितिलाई प्रहरीले सोमबार  परीक्षण रिपोर्ट बुझाएको हो ।

बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई लागेको छ । उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो । त्यसपछि झन् शंका गर्न थप बल पुगेको थियो।

अरु व्यक्तिको प्रवेश भए नभएको अनुसन्धान गर्न समितिले आइतवार सिंहदरबाको पश्चिम र दक्षिण गेटको सीसीटीभी  फुटेज माग गरेको हो । जेठ १४ गते दिउँसो १२ बजेदेखि २४ घण्टाभित्रको फुजेट माग गरेको हो । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिनुभएको थियो । सोही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

७) एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढिको आयात, २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात

नेपालले आर्थिक वर्ष २०७८÷७९ मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को तुलनामा आव २४.७४ प्रतिशतले बढी आयात हो।
नेपालले अघिल्लो आव २०७७÷७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले आर्थिक वर्षमा २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को तुलनामा ४१.७४ प्रतिशत बढीले निर्यात गरेको छ । नेपालले सो वर्ष १ खर्ब ४१ अब १२ करोड ४० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

यस्तै नेपालले गत वर्ष १९ खर्बको वस्तु आयात गर्दा पेट्रोलियम पदार्थ मात्रै ३ खर्ब २२ अर्ब १ करोड ३० लाख रुपैयाँको आयात गरेको । जुन आयात वस्तुको १६.७६ प्रतिशत हिस्सा हो ।

८) नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी पुनः आन्दोलनमा 

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले कार्यकक्षमा स्वच्छ हावा र प्रकाश नभएको भन्दै आन्दोलन गरेका छन् । सोमवार प्राधिकरण व्यवस्थापनविरुद्ध २ दर्जन भन्दा बढी कर्मचारीहरूले जमलस्थित राष्ट्रिय नाचघरमा रहेको कार्यालयमा धर्ना दिएका हुन् ।  

प्रतिकुल कार्यालय वातावरणका कारण कर्मचारीहरुको खस्कदो स्वास्थ्य स्थितिलाई लिएर यूनियनले पटक पटक व्यवस्थापनको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको तथा यूनियनले २०७८/०९/०२ गते पेश गरेका मागहरु सम्बोधन नभएकाले २०७८/११/१९ गते स्थगित आन्दोलनका कार्यक्रमहरु आज साउन ९ गते देखि पूनः सुचारू गरिएको यूनियनले जनाएको छ।

९) कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर परिक्षण गर्दा ४५३ जना र  १ हजार ७ सय १६ जनाको एन्टीजेन परिक्षण गर्दा ११५ गरी थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४८०० जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ जना रहेका छन् । 

१०) काठमाण्डौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित स्काइ वल्र्ड कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । प्रहरीले अवैध गतिविधि गरेको आशंकामा उक्त कल सेन्टरमा छापा मारेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा उक्त कल सेन्टरमा छापा मारेको प्रहरीले जनाएको छ । उनिहरुले एक घर भाडामा लिएर कल सेन्टर चलाइरहेका थिए । त्यहाँ २ हजारभन्दा बढी युवा युवतीहरू काम गर्दै आएको पाइएको छ ।

त्यहाँ बसेर उनीहरुले साइबर अपराध गरेको आशंका गरीएको प्रहरीले बताएको छ । आइतबार प्रहरीले चिनियाँ नागरिकले चलाएको भैरहवाको तिलोत्तमा नगरपालिका २ जानकी नगरस्थित ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा छापा मारेको थियो । छापा मार्ने क्रममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले एक जना भारतीयसहित ९ जना टिम लिडरहरूलाई पक्राउ गरेको थियो ।