२५ बैशाख, २०८२ बिहिबार

10:10:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबारका प्रमुख आर्थिक सामचारः सेयर बजारमा गिरावटदेखि जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनसम्म

२४ असार, २०७९

शुक्रबारका प्रमुख आर्थिक सामचारः सेयर बजारमा गिरावटदेखि जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनसम्म

१) सेयर बजारको ओरालो यात्रामा निरन्तरता

साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा बन्द भएको छ ।

कूल २१७ वटा कम्पनीको ३० लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १६ करोड ८४ लाख ४२ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ ।

२) सरकारी जग्गा ४० वर्षसम्म लिजमा पाइने

सरकारले कुनै पनि सरकारी जग्गा विभिन्न निकाय वा व्यक्तिलाई ४० वर्षसम्म लिजमा दिन सक्ने व्यवस्था गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ सार्वजनिक गर्दै दीर्घकालीन अवधिका लागि ४० वर्षसम्म लिजमा दिन पाउने व्यवस्था गरेको हो ।

सरकारले सो कार्यनीतिमा अल्पकालीनका लागि ५ वर्ष, मध्यकालीनका लागि १५ वर्ष र दीर्घकालीनका लागि ४० वर्षसम्म उपलब्ध गराउन सक्ने व्यवस्था गरेको राजपत्रमा उल्लेख छ ।

३) राष्ट्रपति भण्डारीद्धारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । शुक्रबार राष्ट्रपतिले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन,२०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुवै विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

४) नेपालमा उद्योगको संख्या ६० हजार १ सय पुग्यो

नेपालमा उद्योगको संख्या ६० हजार १ सय ८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । शुक्रबार विभागले ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गर्दै उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको जानकारी दिएको हो ।

५) हिमालय बैंक र सिभिल बैंकको मर्जर सम्झौता स्थगित

हिमालयन बैंक र सिभिल बैंकको मर्जरसम्बन्धी सम्झौता आज (असार २४ गते शुक्रबार) नहुने भएको छ । शुक्रबार  दिउँसो १ बजे हुने भनिएको हिमालयन बैंक र सिभिल बैंकबीचको सम्झौता हाललाई स्थगित भएको हो ।

सिभिल बैंकले कर्मचारी समायोजन, सञ्चालक समिति जस्ता कुरा पनि टुंग्याएर मात्रै सम्झौता गर्ने बताएपछि शुक्रबार हुने भनिएको कार्यक्रम स्थगित भएको जनाइएको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८१ को अनुपातमा मर्जर हुन लागेको  थियो ।

६) गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु

गोली लागेर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत शुक्रबार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि बेहोस हुनुभएका उहाँलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

७) जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो ।

सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ ।

८) साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा आउने

गोल्छा समूहले साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा ल्याउने भएको छ । पर्साको बीरगञ्ज पोखरिया सडकखण्डमा गोल्छा अर्गनाइजेशनबाट छुट्टिएको चन्द्रकुमार (सिके) गोल्छा समूहले उक्त उद्योग सञ्चालन गर्ने भएको हो ।

१८ विगाह क्षेत्रफलमा फैलिने अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आउने यस उद्योगले ४ सय जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ ।

९) बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशको कृषि क्षेत्रमा बढाए ४३.५३ प्रतिशत कर्जा लगानी

बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशको कृषि क्षेत्रमा ४३.५३ प्रतिशतले कर्जा लगानी बढाएका छन्।  नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मधेश प्रदेशमा कर्जा बढेर ५० अर्ब १ करोड पुगेको जनाएको हो। गत वर्षको सोही अवधिमा उक्त कर्जा ३४ अर्ब ८४ करोड रहेको थियो।

सो प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ११.७८ प्रतिशत रहेको छ। मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी कर्जा प्रवाह पर्सा जिल्लामा १७.७० प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्जा प्रवाह सप्तरीमा ७.३५ प्रतिशत रहेको छ।

१०) जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारदेखि छानविन थालिने भएको छ । करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई  संलग्न  गराएको, सीसीटीभी फुटेज मेटाएको आरोप लागेपछि बुधबार राजीनामा दिनुभएका शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको हो ।