२५ बैशाख, २०८२ बिहिबार

10:30:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फुटपाथमा व्यापार गर्न दिने नीति छैनः काठमाडौं महानगर

२३ असार, २०७९

फुटपाथमा व्यापार गर्न दिने नीति छैनः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको बताएको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।

नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।”

एक महिनाअघि निर्वाचित हुनुभएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताउनुभएको थियो । आगामी आर्थिक वर्षका लागि गत असार ८ गते नगर सभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख रहेको महानगरले जनाएको छ ।

महानगरले पटक–पटक सूचना जारी गर्ने, माइकिङ गर्ने काम गर्दा पनि अटेरी गरेपछि कामपा निरीह बन्नुपरेको उहाँले बताउनुभयो। पटक पटकको आग्रहलाई वेवास्ता गरेपछि  महानगरले सामग्री जफत गर्नुपरेको जनाइएको छ ।

सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको पनि महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलन शील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ ।