२१ बैशाख, २०८२ आइतबार

06:02:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तेस्रो हिमालय हाइड्रो एक्स्पो शनिवारदेखि, चीन, भारत, नर्वे लगायतका एक दर्जन देशको सहभागिता रहने

१७ चैत, २०७८

एक्स्पोको मुख्य उद्देश्य नेपालमा उत्पादित जलविद्युतको बजारीकरण गर्नु रहेको इपान अध्यक्ष आचार्यले बताउनु भयो । आचार्यले नेपालमा हाइड्रोपावरको इतिहास एक शताब्दीको भए पनि ०४८ सालपछि निजी क्षेत्रको प्रवेशका कारण मात्रै सो क्षेत्रले फड्को मारेको दावी गर्नु भयो ।

तेस्रो हिमालय हाइड्रो एक्स्पो शनिवारदेखि, चीन, भारत, नर्वे लगायतका एक दर्जन देशको सहभागिता रहने

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण शनिवारदेखि काठमाडौको भृकुटीमण्डपमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिनुभयो । 

५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रर्दशनी नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा हाइड्रो क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्वद्ध पक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने उपयुक्त थलो हुने आचार्यले उल्लेख गर्नु भयो । 

एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्बन्धी विषयगत ६ वटा भन्दा बढी प्राविधिक सेसन सञ्चालन तथा अन्तरक्रिया समेत तय भएको आचार्यले जानकारी दिनुभयो । 

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक र वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन । प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता हुनेछ । 

प्रर्दशनीमा नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटको भूमिकाबारे जानकारी गराइनेछ भने विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोको आकर्षणको रुपमा रहेको छ । 

एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बीमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ ।

एक्स्पोको मुख्य उद्देश्य नेपालमा उत्पादित जलविद्युतको बजारीकरण गर्नु रहेको इपान अध्यक्ष आचार्यले बताउनु भयो । आचार्यले नेपालमा हाइड्रोपावरको इतिहास एक शताब्दीको भए पनि ०४८ सालपछि निजी क्षेत्रको प्रवेशका कारण मात्रै सो क्षेत्रले फड्को मारेको दावी गर्नु भयो । 

१० वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादनको सरकारी घोषणा कार्यान्वयनको सम्भावना देखिएको भन्दै निजी क्षेत्र त्यसबाट आफुहरु उत्साहित भएको उहाँको भनाइ छ । आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबारबाट सुरु हुने औपचारिक भारत भ्रमणका क्रममा ऊर्जा व्यापारलाई प्राथमिकताका साथ उठाउन आग्रह समेत गर्नु भयो ।