१६ चैत, २०८० शुक्रबार

04:40:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अबको शिक्षाः रोजगारमूलक सीप सहितको शिक्षा

Nepal Business

२३ माघ, २०७८

सकारात्मक सोच्ने हो भने एउटा बिन्दुमा गएर कोरोनालाई निस्तेज वा परास्त गरी सकेपछि राष्ट्रको समग्र अग्रगमन र समृद्धिकालागि शैक्षिक रूपान्तरण नै मूल मुद्दा हुनेछ । आर्थिक तथा सामाजिक विकासको आधारशिला गुणस्तरीय शिक्षा नै हो । त्यो दुरदृष्टिका लागि राजनीतिज्ञहरू तथा जिम्मेवार निकायसहित सम्बन्धित सरोकारवालाहरू मिलेर सहकार्य गर्न ढिलो हुँदैछ ।

अहिले हामी कोरोना कहरको तेस्रो लहरसँग जुझ्दै अगाडि बढी राखेको अवस्था छ र केही समय पछि निश्चय नै यसको अन्त्य होला भन्ने आशा सबैले गरेका छौं । तर यथार्थ आउने समयले बताउने नै छ । सन् २०१९ को उत्तरार्द्धमा कोरोना काल सुरू हुनु भन्दा अगावैको समयमा फर्केर जाँदा पनि विश्व तीव्र परिवर्तन र अनिश्चितताको भुमरीमा नै थियो । जुन अहिलेको वर्तमानमा कोरोना महामारी लगायत विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकास र त्यसबाट सिर्जित असन्तुलन, वातावरणीय विनाश, उर्जा सङ्कट, राजनैतिक, सामाजिक, आर्थिक आदि विविध जटिलताका कारणले गर्दा समग्र विश्व थप अन्योल र अनिश्चिततातर्फ गइराखेको अनुभूति चेतनशील मानव जातिले गरेका छन् ।

यदि हामीले केही नयाँ उपलब्धि हासिल गर्न चाहेका छौँ भने हाम्रो सोच, व्यवहार र आचरण पनि नयाँ नै हुनुपर्छ, हिजोदेखि गर्दै आएको कर्मकाण्डी व्यवहारले हिजोकै मात्र नतिजा दिन्छ ।

तर प्रतिकूलता भित्र अनुकुलता खोज्दै चुनौति भित्र पनि अवसरहरू पहिल्याउँदै प्रगति पथमा लम्कनु नै मानव चरित्र हो । समयको आवश्यकता अनुसार नयाँ नयाँ ज्ञान, सीप र क्षमता सिक्दै अगाडि बढ्ने व्यक्तिले नै आफ्नो जीवनको लक्ष्यहरू हासिल गर्छ र जीवनलाई सफल बनाउँछ । नेपालको सन्दर्भमा पनि हामी बिसङ्गति हरू तथा अन्तहीन चुनौतिको पहाडमा उभिएर पनि समृद्ध नेपाल सम्भव छ र त्यसका लागि सकारात्मक सोचका साथ अनुशासित सत्कर्म गर्नुको विकल्प नभएको तीतो यथार्थ  पनि सबैलाई विदितै छ ।

राष्ट्र समुन्नत र समृद्ध बन्नको लागि दक्ष जनशक्ति लगायत भौतिक, आर्थिक, सूचना तथा अन्य विविध स्रोत साधनको सन्तुलित तथा यथोचित विकास र सही सदुपयोग जरुरी हुन्छ । यही क्रममा सकारात्मक सोचका साथ अनुशासित सत्कर्म गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा राष्ट्रको शिक्षा नीतिको अहम् भूमिका हुन्छ । यदि हामीले केही नयाँ उपलब्धि हासिल गर्न चाहेका छौँ भने हाम्रो सोच, व्यवहार र आचरण पनि नयाँ नै हुनुपर्छ, हिजोदेखि गर्दै आएको कर्मकाण्डी व्यवहारले हिजोकै मात्र नतिजा दिन्छ ।

यसरी नै हामीले एक्काइसौं शताब्दीको जनशक्ति तयार गर्न एक्काइसौं शताब्दीको ज्ञान, सीप, दक्षता, नैतिकता र आचरण दिनु पनि जरुरी छ । विसौं शताब्दीको असान्दर्भिक पाठ्यक्रम र विद्यार्थीलाई घोकाएर परीक्षामा उत्तीर्ण गराउने हिजोको मानसिकताबाट आजको युगको आवश्यकता अनुसारको जनशक्ति तयार हुँदैन । राष्ट्र निर्माणका लागि अनुशासित सोच सहितको अनुशासित जनशक्ति तयार गरी त्यसबाट अनुशासित कार्य गर्न गराउनुका लागि रोजगारमूलक सीप सहितको शिक्षा, व्यवहार र आचरण नै आजको आवश्यकता हो ।

बजारको आवश्यकता र यथार्थ

वर्तमान परिप्रेक्ष्यमा रोजगारदाताहरू ले भोग्दै आएका विभिन्न चुनौतिहरू मध्ये एउटा ठुलो चुनौति काम गर्न आवश्यक ज्ञान, सीप र क्षमता भएका योग्य कामदार कर्मचारीको पाउनु तथा तिनीहरूको उचित तालिम र विकास पनि हो । अर्कातिर विश्वविद्यालय तथा शैक्षिक संस्थाले हातमा डिग्री भएका स्नातकहरू उत्पादन गर्छ र नयाँ पुस्ताबाट आशा गर्ने धेरै ठाउँ छ नयाँ प्राविधिक ज्ञान, नयाँ सोच र जाँगर, नयाँ दृष्टिकोण आदि गुणहरूबाट उनीहरू सम्पन्न हुन्छन् । तर विभिन्न अध्ययन तथा अनुसन्धानहरूले औल्याएजस्तै अधिकांश स्नातकहरू बजारको माग अनुसारको कार्य गर्न सक्षम र दक्ष नै हुँदैनन् ।

प्रविधिको विकास, विश्वव्यापिकरण, कार्य प्रकृतिमा परिवर्तन आदि विविध कारणबाट सिर्जित तीव्र प्रतिस्पर्धामा अगाडि रहनका लागि प्रतिस्पर्धी क्षमता तथा रोजगारमूलक सीपसहितको दक्ष जनशक्ति निर्णायक हुन्छ । कुनै पनि संस्था चाहे त्यो सरकारी, गैरसरकारी वा निजी, नाफामूलक होस् वा गैरनाफा मूलक, स्थानीय होस् वा अन्तराष्ट्रिय, त्यसभित्र कुनै पनि तह – प्रारम्भिकदेखि उच्च व्यवस्थापकसम्म कार्य सम्पादन गर्न विभिन्न प्रकारका ज्ञान, सीप र क्षमता आवश्यक हुन्छ तर काम गर्न आउने नयाँ स्नातक – जनशक्तिमा यी दक्षताहरूको अभाव अहिले प्रायजसो सबै मानव संसाधन व्यवस्थापकहरू तथा रोजगारदाताहरूले महसुस गर्दै आएको छ ।

यसरी संस्थालाई आवश्यक पर्ने र जनशक्तिमा उपलब्ध दक्षताको बिचको खाडललाई नै सीपको अभाव वा स्किल ग्याप भनिन्छ । अधिकांश रोजगारदाताहरूले तालिम प्राप्त तथा भोलिदेखि नै आएर संस्थामा काम गर्न सक्ने जनशक्तिलाई रोजगार दिन चाही राखेका हुन्छ भने थोरैले मात्र नयाँ जनशक्तिलाई आवश्यक तालिम उपलब्ध गराउनेतिर सोचेका र गरेका हुन्छ । यसरी अहिले कुनै पनि संस्थालाई आवश्यक पर्ने जनशक्तिको सवालमा सबै रोजगारदाताहरूको चिन्ता र चासोको विषय भनेको रोजगारमूलक सीपसहित काम गर्न तत्पर कामदार कर्मचारीको उपलव्धता नै हो ।

कुनै संस्थाले कामदार कर्मचारी छनौट गर्दा विषयगत दक्षताको साथै भरोसा गर्न लायकको र जिम्मेवारी वहन गर्न सक्ने, आइ पर्ने समस्याको पहिचान, विश्लेषण र समाधान गर्न सक्ने, आफ्नो वा संस्थाको कुरा मौखिक वा लिखित रूपमा स्पष्ट सँग राख्न सक्ने, एक्लै वा समूहमा सहकार्य वा घुलमिल भई काम गर्न सक्ने, सिर्जनशील, आकर्षक व्यक्तित्व र सही आचरण र व्यवहार भएका  तथा कार्यसँग सम्बन्धित अन्य सीप भएका व्यक्तिहरू खोज्छन् । अहिलेको तीव्र प्रतिस्पर्धाको युगमा कामदार कर्मचारीहरूको यिनै दक्षताले संस्थालाई उच्च कार्यसम्पादन क्षमता भएको अव्वल संस्थामा रुपान्तरण गर्न मदत गर्ने भएकोले रोजगारमूलक सीपसहित काम गर्न तत्पर कामदार कर्मचारीको ठुलो माग र मानव पूँजीको रूपमा महत्व छ । यदि कसैले उद्यम गरी स्व रोजगार भई सफलता हासिल गर्न चाहेमा पनि रोजगारमूलक सीपहरू आवश्यक हुन्छ ।

रोजगारमूलक सीप के हो त ?

साधारण अर्थमा रोजगारमूलक सीप भन्नाले रोजगारी पाउन वा उद्यम गर्न आवश्यक सम्पूर्ण सीपहरूलाई जनाउँदछ । रोजगारमूलक सीपलाई अङ्ग्रेजीमा ‘इम्प्लोएविलिटी स्किल’  वा ‘सफ्ट स्किल’ पनि भनिन्छ जुन कार्यस्थलमा सफलता प्राप्त गर्न अत्यावश्यक हुन्छ । रोजगारमूलक सीप ती आधारभूत सीपहरू हुन जुन : 

(क) कुनै पनि काम वा रोजगारी पाउन वा उद्यम  गर्न,

(ख) रोजगारी पाई सकेपछि काम प्रभावकारी र कुशल ढङ्गले सम्पन्न गर्न र

(ग) कार्यको माथिल्लो तहहरूमा पदोन्नती हुन आवश्यक हुन्छन । 

कुनै पनि पेशा, व्यवसाय, उद्यम वा कार्यमा सफलता हासिल गर्न सो क्षेत्रको प्राविधिक तथा व्यावसायिक ज्ञान र सीप को अतिरिक्त रोजगारमूलक सीप वा ‘सफ्ट स्किल’ हरूको आवश्यकता हुन्छ । उदाहरणका लागि एउटा सफल डाक्टर बन्न मेडिकल सम्बन्धी विशिष्ट प्राविधिक ज्ञान र सीप नभइ नहुने कुरा हो, त्यस्तै एउटा सूचना प्रविधि विज्ञ, इन्जियर, शिक्षक, व्यवस्थापक, लेखापाल, वकिल, कार्यालय सहायक, विक्रेता, वा कुनैपनि पेशाकर्मीलाई आ–आफ्नो सम्बन्धित विषयको प्राविधिक ज्ञान र सीप आवश्यक हुन्छ । हरेक पेशा, उद्यमका व्यक्तिका लागि यी प्राविधिक ज्ञान र सीपका साथै रोजगारमूलक सीप पनि महत्वपूर्ण हुन्छ ।

उहाँहरू कर्मक्षेत्रमा सफल हुनका लागि सञ्चारसम्बन्धी सीप, सहकार्य, समस्या समाधान, आलोचनात्मक सोच, लक्ष्य निर्धारण तथा प्राप्ति, प्राथमिकता निर्धारण र समय व्यवस्थापन, अन्तर वैयक्तिक सम्बन्ध आदि रोजगारमूलक सीपहरूले प्रमूख भूमिका निर्वाह गरेको हुन्छ । स्टानफोर्ड रिसर्च इन्स्टिच्युट र कार्नेगी मेलन फाउण्डेशनको एक अध्ययनअनुसार कर्मचारीहरूको दीर्घकालीन कार्य सफलता ७५ प्रतिशत रोजगारमूलक सीपमा र बाँकि २५ प्रतिशत प्राविधिक ज्ञान र सीपमा आधारित हुन्छ (Career Directions, 2003, p. 22) ।

विभिन्न विद्वान लेखक – शोधकर्ताहरूले रोजगारमूलक सीपलाई विभिन्न ढङ्गले व्याख्या र वर्गीकरण गरेको पाइन्छ । यिनै अध्ययनहरूको आधारमा संक्षेपमा तल दिइएको वर्गीकरणको माध्यमबाट यसलाई सही रूपले बुझ्न सकिन्छ 

रोजगारमूलक सीपको श्रेणि सम्बन्धित दक्षताको क्षेत्रहरू

रोजगारमूलक सीप अन्तर्गतको व्यक्तिगत गुणहरू, प्रमुख सीपहरू र सकारात्मक मनोबृत्ति सीपहरूले व्यक्तिगत रूपमा उत्कृष्ट हुनका लागि योगदान दिन्छ भने पहल र उद्यम, र प्रकृया सीपहरू ले संस्थाभित्र अन्य ब्यक्तिहरू वा समुहमा सहकार्य गरी सफल बन्न मद्दत गर्दछ । विश्वको विकसित राष्ट्रहरूले रोजगारमूलक सीपलाइ महत्व दिएर विद्यालय तह देखि नै अनिवार्य गरि प्रभावकारी र ब्यवहारिक ढङ्गले अभ्यास गराई दक्ष जनशक्ति निर्माण गरिराखेका उदाहरणहरू प्रशस्तै छन् ।

राष्ट्रिय लक्ष्य र रोजगारमूलक सीप

युनिसेफले गतवर्ष प्रकाशित गरेको एक प्रतिवेदनअनुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ का कारण एक अर्ब तीस करोड विद्यार्थी प्रभावित हुने गरी संसार भर नै विद्यालय बिश्वविद्यालय बन्द भएको थियो । विकसित र विकासशील राष्ट्रहरूले कोभिड महामारीबाट बच्न र बचाउनुमा गरेको उल्लेखनीय प्रगति र व्यवस्थापनका कारण तिनीहरूले गत वर्षबाट अधिकांश शैक्षिक संस्थाहरू भौतिक रूपमा सञ्चालन गरीसकेका छन् ।

तर नेपालको सन्दर्भमा राजनीतिलाई आफ्नो पेशाा व्यवसाय बनाएका नेताहरूको अहङ्कार र आपसी कलहले लामो समयदेखि सबैजसो क्षेत्र आक्रान्त छन् । महामारी व्यवस्थापन, राज्य सञ्चालन, विकास निर्माण, व्यापारिक गतिविधि, उद्योग धन्दा, लगायत शैक्षिक गतिविधि समेत नराम्ररी बिथोलिएको छ । यस्तो लाग्छ राजनीतिज्ञहरू तथा जिम्मेवार निकायलाई देशको शैक्षिक र अन्य प्रगतिका लागि केही चासो नै छैन कीरु

सकारात्मक सोच्ने हो भने एउटा बिन्दुमा गएर कोरोनालाई निस्तेज वा परास्त गरी सकेपछि राष्ट्रको समग्र अग्रगमन र समृद्धिकालागि शैक्षिक रूपान्तरण नै मूल मुद्दा हुनेछ । आर्थिक तथा सामाजिक विकासको आधारशिला गुणस्तरीय शिक्षा नै हो । त्यो दुरदृष्टिका लागि राजनीतिज्ञहरू तथा जिम्मेवार निकायसहित सम्बन्धित सरोकारवालाहरू मिलेर सहकार्य गर्न ढिलो हुँदैछ । 

नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएअनुसार आय वृद्धि, गुणस्तरीय मानव पुँजी निर्माण र आर्थिक जोखिमको न्यूनीकरण गर्दै,  वि.सं. २०७९ सम्ममा अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने र वि.सं. २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने गरी राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोच तयार गरेको छ ।

उक्त सोचअनुरूप नेपालको १५ औँ योजना ९आर्थिक वर्ष २०७६/७७ – २०८०/८१० को दीर्घकालीन राष्ट्रिय लक्ष्यको दोस्रो नम्बरमा मानव पुँजीनिर्माण तथा सम्भावनाको पूर्ण उपयोग (Development and full utilization of human capital potentials)  रहेको छ र यस अन्तर्गत परिमाणात्मक राष्ट्रिय लक्ष्यको २.२ मा गुण स्तरीय, रोजगारमूलक तथा जीवनोपयोगी शिक्षा प्राप्त नागरिक तयार गर्ने लक्ष्य रहेको छ । योजना अवधिभित्र उच्च शिक्षामा कूल भर्ना दर १२ बाट २२ प्रतिशत तथा काम गने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ३१ बाट ५० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ (राष्ट्रिय योजना आयोग, २०७७)। 

दीर्घकालीन राष्ट्रिय सोच र लक्ष्यहरू निश्चित रूपमा सकारात्मक छन् तर लक्ष्य अनुसार रोजगारमूलक सीप सहितको शिक्षा कसरी दिने भन्ने बारे स्पष्ट सोच र कार्यनीति देखिँदैन । त्यसै गरी कुन प्रकारको सीपयुक्त जनशक्ति कहाँ, कति र कहिले आवश्यक पर्ने हो र कुन विषय वा क्षेत्रका के कति जनशक्ति तयार भइरहेका छ भन्ने कुराको निरन्तर निर्क्योल गर्ने तथा सो सम्बन्धी जानकारी सबैको पहुँचमा पुग्ने गरी प्रवाह गर्ने कुनै संयन्त्र को विकास हुन सकेको छैन (TVESD 2075) ।

यस्तै गरी विश्वविद्यालय अनुदान आयोग द्वारा प्रकाशित शैक्षिक व्यवस्थापन सूचना प्रणाली प्रतिवेदन २०१८/१९ अनुसार देशमा उच्च शिक्षाको जनशक्ति उत्पादन गर्ने ११ पूर्ण विश्वविद्यालय तथा ४ चिकित्सा विज्ञान प्रतिष्‍ठानहरू रहेका छ । यी विश्वविद्यालयहरू अन्तर्गत १४७ आङ्गिक (१०.२७ प्रतिशत), ७४७ निजी (५२.१६ प्रतिशत), र ५३८ सामुदायिक (३७.५६ प्रतिशत) गरी जम्मा १,४३२ उच्च शिक्षाका कलेज–क्याम्पस रहेको छ ।

उक्त प्रतिवेदन अनुसार सन् २०१८/१९मा कूल ४,४१,८१९ विद्यार्थीहरू उच्च शिक्षामा भर्ना भएको तथ्याङ्क छ । विज्ञान तथा प्रविधि, इन्जीनियरिङ्ग तथा चिकित्सा सम्बन्धी प्राविधिक विषयका कार्यक्रमहरूमा २३.०३ प्रतिशत र व्यवस्थापन, शिक्षा, मानविकी, कानुन जस्ता अन्य विषयका कार्यक्रमहरूमा ७६.९७ प्रतिशत विद्यार्थीहरू भर्ना भएका छ । सन् २०१८/१९ मा विश्वविद्यालय तथा चिकित्सा विज्ञान प्रतिष्‍ठानहरूको दीक्षान्त समारोहको ग्रेस लिष्ट अनुसार स्नातक हुने विद्यार्थिको संख्या ८४,५१० रहेको छ (EMIS 2018/19, UGC)  । 

वास्तविक रूपमा उत्तीर्ण हुने विद्यार्थिको संख्या उक्त संख्या भन्दा बढी नै रहेको र विदेशी विश्व विद्यालयको सम्बन्धनमा उत्तीर्ण हुने स्नातकको पनि संख्या जोड्दा एकलाख भन्दा बढी स्नातकहरू बर्सेनी उत्पादन भइराखेको निष्कर्ष निकाल्न सकिन्छ । यसरी श्रम बजारमा जुन आपूर्ति थपिँदै गइराखेकोछ त्यसमा कति प्रतिशत स्नातकले रोजगारी पाउँछ वा कति प्रतिशत स्वः रोजगार हुन्छ र त्यसमा पनि कतिले रोजगारमूलक सीप हासिल गरेको त्यसको यकिन तथ्याङ्क उपलब्ध छैन । 

हाम्रो अबको गन्तव्य

१) राष्ट्रिय नीति तथा कार्यक्रम तर्जुमा

यसरी दीर्घकालीन राष्ट्रिय सोच र लक्ष्य सहितको योजना एकातिर र स्नातकहरूको आपूर्ति र खपत अर्कातिर गइराखेको र सामञ्जस्य नभएको देखिन्छ ।  त्यसैले नीति निर्माताहरूको ध्यान यता अविलम्ब जान जरुरी छ र १५औँ योजनाको निर्दिष्ट लक्ष्यहरू हासिल गर्न रोजगारमूलक सीप सम्बन्धी राष्ट्रिय नीति तथा कार्यक्रम तर्जुमा गरी बिद्यालय तह देखि उच्च शिक्षासम्म अनिवार्य रूपमा रोजगारमूलक सीप प्रदान गर्ने व्यवस्था गर्नु जरुरी छ । 

२ ) पाठ्यक्रम परिमार्जन

बिद्यालय पाठ्यक्रममा कक्षातह अनुसार आवश्यक परिमार्जन गरी व्यावहारिक ज्ञान र सीपलाई विभिन्न विषयहरूमा जोडन सकिन्छ । त्यसै गरी हाल कक्षा ११ र १२ मा जीवनोपयोगी शिक्षा विषयलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नराखी त्यसमा आवश्यक सुधार गरी व्यावहारिक रूपमा रोजगारमूलक सीप प्रदान गर्ने विषयको रूपमा विकसित गर्नु जरुरी छ ।

उच्च शिक्षामा सङ्काय वा विषय अनुसार स्नातक हुने विद्यार्थीहरूलाई रोजगारमूलक सीप छुट्टै विषयको रूपमा अध्ययन अध्यापन गराउन सकिन्छ । रोजगारदाता र तिनका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया र गहन छलफल गरेर बजारको माग अनुरूप के कस्ता सीपहरू कुन तहमा कसरी दिनु पर्छ भन्ने निर्क्योल गरी सोही अनुसार नीति तथा कार्यक्रम तर्जुमा गरी अगाडि बढ्नु पर्छ । 

३) शिक्षक शिक्षिकाको शशक्तिकरण

विद्यालय, विश्व विद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जस्ता सीप प्रदायक संस्थाहरूले आफ्नो पाठ्यक्रममा अवश्यक परिमार्जन गरी सकेपछि आफ्नो शिक्षक शिक्षिका लाई सशक्त बनाउन जरुरी हुन्छ । शिक्षक शिक्षिकालाई प्रभावकारी अभिमुखिकरण, उत्प्रेरणा र तालिम दिलाउन सकेमा मात्र रोजगारमूलक सीप लाइ विद्यार्थी माझ लैजान सकिन्छ । 

४) बिद्यार्थीको शशक्तिकरण

त्यस पश्चात् विद्यार्थीलाई विद्यालय तहदेखि तथा बेरोजगारलाई अन्य माध्यमबाट रोजगारीका लागि उत्पे्ररित र तयार गर्नु आवश्यक हुन्छ । यो सीप हासिल गर्न विद्यार्थी स्वयं जागरूक हुनुपर्छ र सक्रिय भएर लाग्नु पर्छ तर दुख लाग्दो यथार्थ के पनि हो भने हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई राम्रो श्रेणी ल्याएर परीक्षा उत्तीर्ण गर्नु पर्छ भन्ने मात्र सिकायो २१ओं शताव्दीको सीप दिन सकेन । परिणाम स्वरूप केही अपवाद बाहेक अधिकांश विद्यार्थीमा किताबी ज्ञान बाहेक अरू केही नयाँ सिकौँ भन्ने भावना नै छैन र अन्य थप ज्ञान र सीपलाई बोझको रूपमा मात्र लिने मानसिकताबाट ग्रस्त छ । 

५)  विद्यालय तथा कलेजहरूको जिम्मेवारी बोध

जीवनमा हरेक सफलताका लागि राम्रो तयारी गर्नु पर्छ तब मात्र उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने सोच विद्यार्थीमा विकसित गर्नु हरेक शिक्षक, विद्यालय, कलेज क्याम्पस र अभिभावकको जिम्मेवारी हो । प्रत्येक विद्यालय तथा कलेजहरूले पनि रोजगारमूलक सीपको सवालमा कोर्समा छैन भनेर पन्छिन मिल्दैन र विद्यार्थीप्रति आफ्नो जिम्मेवारी बोध गरेर तिनीहरूको सफल भविष्यको लागि जे – जस्तो व्यवस्था गर्न सकिन्छ गर्नु पर्छ । प्रायजसो जुनसुकै पाठ्यक्रमले पनि विभिन्न सीप सिकाउने उद्देश्य राखेको हुन्छ तर यो जाँचमा सोधिँदैन भनेर नपढाइने वा ब्यवहारिक ढङ्गले अभ्यास नगराउने परिपाटीको अन्त्य गर्ने दायित्व पनि विद्यालय तथा कलेजहरूको नै हो ।

६) सीप परीक्षण

कक्षा १२ वा स्नातक भइसके रोजगारीमा जान चाहने जनशक्तिका लागि सीप परीक्षण गर्ने व्यवस्था हुनु पर्छ । त्यसमा सफल भइसके मात्र सम्बन्धित क्षेत्रमा रोजगारीका लागि योग्य भएको निश्चित गर्न सकेमा बजारले गुणस्तरीय र दक्ष जनशक्ति प्राप्त गर्नेछ । यस अवस्थामा मात्र संस्थाहरूले आफ्नो प्रतिस्पर्धा क्षमता बढाउँदै कार्यक्षेत्रमा सफल भइ राष्ट्रको सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउँछ भन्ने विश्वास गर्न सकिन्छ ।

अन्त्यमा

रोजगारमूलक सीप सहितको शिक्षा एक्काइसौं शताव्दीको आवश्यकता हो । नेपालको परिप्रेक्ष्यमा यसलाई अभियानकै रूपमा अगाडि बढाउन ढिलो भई छ । नेतृत्व लिनु पर्ने त तिनै तहका सरकारहरू, सरोकारवाला मन्त्रालय, विभाग, विश्वविद्यालयहरू तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले हो ।

तर कुम्भकर्ण जस्तै सुतेका वा सुतेको ढोँग गर्ने राजनैतिक नेताहरू र कर्मचारीतन्त्रलाई उठाउन अहिले तुरुन्तै नसकिए पनि जसबाट र जहाँबाट सुरू हुन्छ त्यसलाई नै बिहानीको रूपमा लिँदै समस्त रोजगारदाताहरू, विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू, विद्यार्थी स्वयं तथा अभिभावकहरू, सीप प्रदायकहरू, एवम् सच्चा सामाजिक अभियन्ताहरूले रोजगारमूलक सीपसहितको शिक्षाको अभियानमा हातेमालो गर्दै सकारात्मक सोच र अनुशासित कार्य गर्दै अगाडि बढेमा स्किल ग्यापलाई घटाउँदै समुन्नत र सक्षम जनशक्तिको माध्यमबाट समृद्धि हासिल गर्दै समाजको रुपान्तरण संभव छ ।

सुझावका लागि :  [email protected]