२१ बैशाख, २०८२ आइतबार
01:14:49 PM
४ असोज, २०७९
काठमाडौं । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई भदौ ३१ गते एक पत्र पठाउँदै ७ दिनभित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको हो ।
नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई लिएर नेप्से कर्मचारी संघ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालबाट यससम्बन्धी कार्य स्थगित गर्न आवश्यक कारबाही अगाडि बढाई पाउँ भनी समितिमा निवेदन दिएको पत्रमा उल्लेख छ ।
सोही निवेदनका सम्बन्धमा अर्थ समितिका सभापतिबाट नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनुअगाडि मुद्रा बजार र पुँजी बजारसम्बन्धी समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नुपर्ने देखिएको पत्रमा उल्लेख छ।
‘तर, तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्नसाथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी सभापतिबाट तोक आदेश भएकाले यस सम्बन्धमा भएका कामकारबाहीसम्बन्धी विस्तृत विवरण ७ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको काम कारबाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ।