२३ बैशाख, २०८२ मंगलबार
07:09:26 AM
६ माघ, २०७८
काठमाण्डौं
केशव आचार्य
लामो समयसम्म रोकिएको आईपिओ निष्कासनका लागि ५ वटा कम्पनिले स्वीकृती पाएका छन् । शेयर निष्कासन अनुमति प्रदान गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि ५ कम्पनीलाई अनुमति दिएको बोर्डकी सूचना अधिकारी दिपा दाहालले जानकारी दिनुभयो । नेपाल विजनेशसंग कुरागर्दै सूचना अधिकारी दाहालले यस्तो जानकारी दिनुभएको हो । सेबोनको बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिइने निर्णय गरेको बोर्डको सूचना अधिकारी दहालले बताउनु भएको छ । अर्थमन्त्रालयको प्रतिनिधिको उपस्थितिमा बोर्डको बैठकबाट ती कम्पनीलाई अनुमति दिने निर्णयमा पुगेका हौं उँहाले भन्नुभयो । अव ती कम्पनीहरुले आफ्नो प्रक्रिया पुरा गरी सर्वधारणमा आईपिओ जारी गर्ने सक्नेछन् ।
बुधबार बसेको बैठकले आईपिओ जारी गर्न स्वीकृत माग गरेका ५ कम्पनीलाई स्वीकृती जारी गरेसंगै लामो समय आईपिओ भर्न नपाएका लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न असार २० गते सेबोनमा निवेदन पेश गरेको थियो । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई इक्रा एनपी–आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबोनमा निवेदन दिएको थियो । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको थियो । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको थियो । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।